कोशीमा रोकियो मुख्यमन्त्रीको शपथ, मन्त्रीमा माओवादीकाे विवाद
विराटनगर, १७ साउन । काेशी प्रदेशमा साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको छ ।
माओवादीले पठाउने मन्त्रीमा विवाद भएपछि नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण राेकिएकाे हाे । सरकारमा गठबन्धन दलबाट एक-एक जना मन्त्री पठाउने तयारी थियो ।
हिजाेमात्र सभामुखबाट राजीनामा दिनुभएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर अन्तिम समयमा आएर प्रधानमन्त्री प्रचण्डका ज्वाई जीवन आचार्यले पनि मन्त्री दाबी गरेपछि माओवादीमा कसलाई मन्त्री बनाएर पठाउने भन्ने विवाद भएको छ ।
अचानक शपथग्रहण कार्यक्रम स्थगित भएपछि शपथ लिन ठिक्क पर्नुभएका नयाँ मन्त्रीका सूचीमा रहनुभएकाहरू फर्किनुपरेकाे छ ।
