म्याग्दीमा बढ्यो आलु उत्पादन

म्याग्दी, १९ साउन । म्याग्दीमा यसवर्ष आलु उत्पादन बढेकाे छ । म्याग्दीमा गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार छ सय ५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार चार सय १० मेट्रिकटन उत्पादन भएको जानकारी दिनुभयो । “अघिल्लो वर्ष एक हजार एक सय ४५ हेक्टर जमिनमा आलु खेती भएकामा २३ हजार सात सय ९३ मेट्रिकटन उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन पनि बढेको हो ।”

स्थानीय तहहरुले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रममार्फत आलु खेती विस्तार गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत पाँच सय रोपनी जमिनमा आलु खेतीको कार्यक्रम सञ्चालन गरिएको थियो ।

खेती गर्ने र भित्र्याउने समयमा अनुकूल मौसम र रोग किराको समस्या नभएकाले पनि आलुको उत्पादन गत वर्षको तुलनामा बढेको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका कृषक फासबहादुर पुर्जाले बताउनुभयो । उहाँले एउटै दाना एक किलो बराबर तौल भएको आलु उत्पादन भएको जानकारी दिनुभयो । म्याग्दीको तल्लो क्षेत्रमा हिउँदे र उच्च पहाडी लेकाली क्षेत्रमा बर्खे आलु खेती हुन्छ ।

अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धौलागिरिको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन् ।

नागी राम्चेबाट वार्षिक रु दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको छ । उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौँलगायत बजार क्षेत्रमा निकासी हुँदै आएको छ । जिल्लाबाट वार्षिक रु छ करोडभन्दा बढी मूल्यको आलु निकासी हुने केन्द्रको तथ्याङ्क छ ।

जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा गाउँपालिकाको ६, ७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ ।