उच्च अंकले फर्कियो बजार

काठमाडाैं, २४ साउन । बुधबार नेप्से बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ४१.०६ अंक बढेर २०६०.९१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन काराेबार पनि सामान्य बढेको छ । यस दिन २६५ स्टकको ७७ हजार ५०१ पटकको कारोबारमा १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको ५० लाख १० हजार कित्ता शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ।

त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ९.८३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।