कालीमाटी बजारमा दुई दिनदेखि प्याजकाे गाेदाम खाली, कालोबजारी गर्ने १७ जना कारबाहीमा
काठमाडौं, ६ भदौ । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ ।
काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा दुई दिनदेखि व्यापारीकाे प्याज गाेदाम खाली भएका छन्। कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो ।
“दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउनेगरेकामा दुई दिनदेखि ठप्प छ । गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दातसकिए पछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन”, उहाँले भन्नुभयो । यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकामा भारत सरकारले गत शनिबारदेखि ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो ।
बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ । “भएको मौज्दात सकियो । व्यापारीले ल्याउने कुरा हो, उतै (भारत) बाट पठाएका छैनन् भन्ने सुनेको छ,” उहाँले भन्नुभयो, “बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो ।” भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत देखिएको छ ।
पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ । कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो ।
विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो तीन दिनदेखि प्याजको बजारमूल्य केन्द्रित अनुगमन भइरहेको बताउनुभयो । “हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौँ । आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ”, उहाँले भन्नुभयो,“अहिले हामीले मुख्यगरी प्याजका आयातकर्ता र गोदाममा अनुगमन गरिरहेका छौँ । व्यापारीले प्रतिकिलो रू ४८ मा किनेको प्याज रू ६८/७० सम्ममा बेच्ने गरेको अनुगमनबाट देखिएको छ ।”
यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम रू तीन लाखसम्म जरिवाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिनुभयो । विभागले बजार अनुगमनका क्रममा सोमबार तीनजना व्यापारीलाई जनही रू २० हजार, दुईजना व्यापारीलाई जनही रू ५० हजारका दरले जरिवाना गरेको थियो भने चारवटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरेकोे थियो ।
त्यस्तै मङ्गलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिवाना गरिएको थियो भने पाँच व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएकोे थियो ।