सांसद र विज्ञहरुका नजरमा विद्युत खपत, व्यापार, सम्भावना र चुनौतीः कहाँ चुक्यो नेपाल ?
काठमाडौं, ७ भदौ । हाइड्रो पावर इन्जिनियरिङ कार्यक्रम (एम.एस्सी.) पुल्चोक क्याम्पसले विज्ञहरुलाई बोलाएर एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरको छ । एम.एस्सीले सो क्षेत्रका विज्ञहरुलाई बोलाएर ‘विद्युत खपत र व्यापारः सम्भावना र चुनौतीहरू’ विषयक कार्यक्रमको आयोजना गरको हो । कार्यक्रममा सांसद र उर्जा क्षेत्रका विज्ञहरुको उपस्थिति थियो । गहकिलो अन्तरक्रियामा सांसद र उर्जा क्षेत्रका विज्ञहरुले विद्युत खपत बढाउन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका छन् ।
उनीहरुले विद्युतीय संरचनासँगै सोही अुनसार नीति–ऐनमा पनि जोड दिएका छन् । ‘नीति तथा ऐनमा विद्युत खपत बढाउने योजना, विद्युतीय पूर्वाधार विकास, विद्युतीय सवारी, चार्जिङ स्टेसन सबै पक्षलाई समेट्नुपर्छ,’ सांसद गगन थापाले भन्नुभयो, ‘नेपालमै उत्पादन गर्ने तर्फ लाग्नुपर्छ ।’ उहाँले त्यो भयो भने मात्रै औद्योगिक क्षेत्रको विकास सँगै खपत पनि बढ्ने बताउनुभयो । उहाँले अहिलेसम्म औद्योगिक क्षेत्रमा भरपर्दो विद्युत दिन नसक्दा समस्या भएको पनि उल्लेख गर्नुभयो ।
‘नेपालले उत्पादन गरेको विजुली भारतलाई बेच्दै गर्दा २०५० सम्ममा हामीले ४० हजार मेगावाट विद्यूत आवश्यक हुन्छ भनिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीलाई विकासको आकांक्षा छ । हामी जतिजति विकास गर्दै जान्छौँ । त्यतित्यति प्रतिव्यक्ति खपत पनि बढ्दै जान्छ । प्रतिव्यक्ति खपत बढाउँदै गयो भने विकास हुन्छ र विकास हुँदै गयो भने पनि प्रतिव्यक्ति खपत पनि बढ्दै जान्छ ।’
उहाँले २०५० सम्म ४० हजार मेगावाट विद्युत उत्पादन गर्नुपर्ने छ भने त्यसका लागि अहिले उत्पादन पनि बढाउँदै लैजानु पर्नेमा पनि जोड दिनुभयो । ‘यो बीचको समयमा हामीलाई नाफा चाहिने भएकाले खपत पनि बढाउँदै जानुपर्यो र विद्युत व्यापार पनि गर्दै जानुपर्यो । यस्तो खालको रणनीति हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘उत्पादन र खपत दुवैलाई सगसँगै लगेर जानुपर्छ । उत्पादन मात्र भयो भने समस्या हुन्छ र खपतमात्र भयो भने पनि समस्या हुन्छ । खपत बढाउने कुरा गरिरहँदा विद्युतीय भान्सा र विद्युतीय सवारीको प्रयोग नै प्राथमिकतामा आउछ । यो विचको समयको योजना हामीलाई चाहिएको छ । यसका लागि रणनीतिक हुनुपर्छ ।’
सांसद थापाले मात्रै होइन अर्का सांसद र विज्ञहरुले पनि पर्याप्त उत्पादन भएर पनि पूर्वाधार निर्माणको अभाव तथा अपर्याप्त संरचनाका कारण विद्युत आपूर्तिको अवस्था अस्तव्यस्त भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
सांसद ठाकुर गैरेले विद्युत व्यापार गर्ने, खपत बढाउने भन्दै गर्दा अहिले पनि धेरै विकट गाउँमा बिजुली नपुगेको र बिजुली पुगे पनि लोडसेडिङको समस्या जटिल भएको भन्दै त्यतातिर पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, ‘मेरो निर्वाचन क्षेत्रका आमा, दिदीबहिनीहरुले चलाउने सस्याना मिसिनहरु पनि बिजुलीको अभावमा चल्दैनन्।’
उहाँले नागरिकता र पासपोर्ट बनाउन लाइनमा बसेका युवाहरु बत्ती गयो भनेर भनेर फर्किनुपर्ने बाध्यता रहेको पनि उल्लेख गर्नुभयो । उहाँले विद्युतीय पूर्वाधार निर्माणमा देखिएका समस्या समाधानमा सरकार, संसदीय समिति र सदनमा समेत पहल हुनुपर्नेमा जोड दिनुभयो ।
पूर्वजलस्रोत मन्त्री दिपक ज्ञवालीले भारतले सकेसम्म नेपालको बिजुली आफ्ना व्यवसायिक उद्योगमा सस्तोमा किन्न खोजेको भन्दै भारतलाई बिजुली बेचेर धनी हुने भन्ने कुरा उचित नभएको दाबी गर्नुभयो । ‘भारतले अहिले पाकिस्तानलगायतका देशको बिजुली त लिदैँन नै त्योसँगै नेपालसँग पनि बिजुली खरिद गर्दा कुन कम्पनीले लगानी गरेको छ र को–को सयर होल्डर छ भनेर बिचार गरेर मात्रै लिने भन्छ । अलिअलि विदेशीको गन्ध आयो भने नलिने भन्छ,’ ज्ञवालीले भन्नुभयो, ‘यस्तोको पछि लागेर हामी समय बर्बात गरिरहेका छौँ । भारत हाम्रो बिजुली नभएर मर्दैन । अहिले भारतको क्षमता चार लाख मेगावाट छ । उस्ले आठ लाख पुर्याउँदै छ । त्यसैले हाम्रो बिजुली त उस्का लागि हात्तीका मुखमा जिरा जस्तै हो । त्यसैले भारतले नेपालको बिजुलीका लागि माग मात्रै सिर्जना गरेको छ तर बजार सिर्जना गर्न सकेको छैन ।’

हाइड्रो पावर इन्जिनियरिङ कार्यक्रम (एम एस्सी), पुल्चोक क्याम्पसका संयोजक एवं विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा. मुकेशराज काफ्लेले ऊर्जा विकासका ५ वटा परिदृष्यबारे चर्चा गर्नुभयो । उहाँले पहिलो दृष्य उत्पादन क्षमता २८०० मेगावाट भन्दा बढी छ भए पनि उच्च माग १८०० मेगावाटको हाराहारीमा रहेको उल्लेख गर्नुभयो । उहाँले दोस्रो परिदृष्यमा विद्युत व्यापारबारे उल्लेख गर्नुभयो । इन्डियन एक्सचेञ्ज मार्केटमा ४५२ मेगावाट विद्युत प्रतिस्पर्धी बजारमा बेच्ने अनुमति पाए पनि त्यो बेच्न नसकिएको उहाँको भनाई थियो ।
‘साउनको मात्रै तथ्यांक हेर्ने हो भने ३४० देखि ३५० मेगावाटको हाराहारीमा मात्र बिक्री भइरहेको छ,’ उहाँले भन्नुभयो । उहाँले तेस्रो परिदृष्यमा चाँहि बिजुली खेर फालिरहेको र निर्यात पनि गरिरहेको अनि आयात पनि गरिरहेको उल्लेख गर्नुभयो । धेरै उद्योगमा लोडसेडिङ रहेको सन्दर्भलाई चौथो र पाँचौँ परिदृष्यमा उहाँले विद्युतीकरण भएको स्थानमा झ्यापझ्याप बिजुली जाने समस्या उल्लेख गर्नुभयो । यी सबै परिदृष्यको प्रमुख कारण पुर्वाधार, अपर्याप्त पूर्वाधार र कमजोर पुर्वाधार रहेको उहाँको तर्क थियो । विगतमा बनेका पूर्वाधारले नै अहिलेसम्म धानेको भए पनि नयाँ पूर्वाधारमा विद्यूत प्राधिकरणको नेतृत्वको ध्यान जान नसकेको उहाँको भनाई थियो ।
पूर्वाधार विकास समितिका सचिव उदयकुमार भण्डारीले जलविद्युत क्षेत्र तथा ऊर्जा विकासका विषयमा गहन छलफल हुनुपर्नेमा जोड दिनुभयो । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यपत्र प्रस्तुत गर्दै विद्युत बेचेर धनी नहुने भन्दै विद्युत माग र आपूर्तिबीच चक्रीय असन्तुलन समस्या भएको बताउनुभयोे । उहाँले आन्तरिक खपत विस्तारमा जोड दिनुपर्ने भन्दै त्यसका लागि पूर्वाधार निर्माणमा ध्यान जानुपर्ने बताउनुभयो ।
उर्जा उत्पादक संघ (इपान) का अध्यक्ष गणेश कार्कीले प्रसारण लाइनको अभाव प्रमुख समस्या भएको भन्दै विद्युत प्राधिकरणले विद्युतीय संरचना निर्माण तथा स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताउनुभयो । उत्पादित विद्युत पूर्ण रूपमा राष्ट्रिय ग्रिडमा जोड्न नसक्दा विद्युत खेर गइरहेको उहाँको भनाई थियो ।
शेरसिंह भाट (प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाटले विद्युतीय संरचना भरपर्दो नहुँदा विद्युतको माग बढ्न नसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा उर्जा उद्यमी कुमार पाण्डे, इपानकी कार्यकारी सदस्य, सुसन कर्माचार्य, उर्जा कानुनविद् सेमन्त दाहाललगायतले पनि आ–आफ्ना भनाई राख्नु भएको थियो ।
(सांसद र विज्ञहरुका प्रस्तुत विचारसहितको भिडियो रिपोर्ट प्रतिक्षा गर्नुहोस्)
