खोला खोलिसकेपछि कपनको कहर (तस्बिरहरु)
काठमाडौं, १० भदौ । सामाखुसी खोल्ने नाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएर अलपत्र छोडेको कपन क्षेत्र अहिले नर्क झैं देखिने गरी अस्तव्यस्त बनेको छ ।
गत केही सातादेखि बाढीका कारण चर्चामा आइरहेको कपन क्षेत्रमा बाढी नियन्त्रण गर्ने नाममा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको ठाडो आदेशमा सयौं नगर प्रहरी तैनाथ गरी एकाएक डोजर लगाएर सामाखुसी खोल्ने काम गरेको थियो । तर स्ल्याब निकालेर खोला खोलिसकेपछि त्यहाँ तत्काल गर्नुपर्ने अन्य काम अघि नबढाएका कारण पूरा वस्ती नै अस्तव्यस्त बन्न पुगेको हो ।
एकातिर खोलिएको खोला त्यसै छोडिएको छ भने अर्कोतर्फ पूरा बाटो हिलाम्ये भएकोले मानिस हिँड्न गाह्रो भएको छ । साना बालबालिकाहरूलाई स्कुल पुर्याउन पनि त्यो बाटोबाट लान अप्ठेरो परेको छ । खोलिएको खोलामा केही मानिसहरू खस्न पनि थालेका छन् ।
अब वर्षा रोकिएपछि यो ठाउँमा उतिकै दुर्गन्ध बढ्ने र रोग संक्रमण भएर महामारी समेत फैलिनसक्ने खतरा रहेको स्थानीयवासी बताउँछन् ।
खोला खोलिएपछि अस्तव्यस्त बनेको कपन क्षेत्रका केही तस्बिरः
तस्बिरहरुः सन्देश मुनिकार





