गाईजात्राका दिन यी क्षेत्रमा हुनेछ यातायात निषेधः दमकल र एम्बुलेन्स स्टायण्डबाइ राखिने

काठमाडौं, १३ भदौ । काठमाडौंमा भदौ १५ गते शुक्रवार मनाइने गाईजात्रा (सापारु) पर्वका दिन गाईजात्रा चलाइने सम्पूर्ण क्षेत्रमा यातायात निषेध गर्ने निर्णय काठमाडौं महानगरपालिकाले गरेको छ । यस पटक तिथि अन्यौलका कारण केही मानिसहरूले भने भोलि विहीवार पनि गाईजात्रा निकाल्ने सम्भावना रहेकोले भोलि पनि यो क्षेत्रमा यातायात बन्द हुने बताइएको छ।
काठमाडौंमा भने विशेष रुपमा शुक्रवार नै गाईजात्रा मनाउने तयारी भइरहेको छ । सो दिन बसन्तपुर हनुमानढोका क्षेत्रमा विशेष भिडभाड हुने भएकोले सो ठाउँबाट दमकल र एम्बुलेन्स समेत लान नमिल्ने हुन्छ । त्यसैले उक्त दिन पानी भरिएको एउटा दमकल र एउटा एम्बुलेन्स भिमसेनथान क्षेत्रमा परोपकार स्कुल सँगै तयारी अवस्थामा राख्ने निर्णय पनि भएको छ ।
गाईजात्रा व्यवस्थापनका लागि हनुमानढोकामा भएको बैठकमा कामपा २० वडाका अध्यक्ष राजेन्द्र मानन्धरले आकस्मिक रुपमा हुन सक्ने दुर्घटनालाई ध्यानमा राखी एउटा दमकल र एम्बुलेन्स नगरको तल्लो भेगमा स्टाय्ण्डबाइ राख्ने प्रस्ताव राख्नुभएको थियो ।
बैठकमा सहभागी सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठका अनुसार पोहोर साल गाईजात्राकै दिन छाउनी क्षेत्रमा भएको आगलागी नियन्त्रण गर्न बसन्तपुरको बीचबाट दमकल लानुपर्दा धेरै समस्या भएको थियो । अहिले पनि त्यस्तो अवस्था नआओस् भनेर भिमसेनथान क्षेत्रमा एक एक वटा दमकल र एम्बुलेन्स तयारी अवस्थामै राख्ने निर्णय भएको हो ।
गाईजात्राका दिन काठमाडौंको हनुमानढोका क्षेत्र लगायत असन, इन्द्रचोक, मखन, मरु टोल, जैशी देवल, भिमसेनथान, लगन चोक, ब्रम्हटोल, बांगेमुढा, भोटाहिटी क्षेत्रमा सवारी साधन निषेध गरिनेछ । उक्त दिन यो क्षेत्रमा यातायात निषेध हुने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।
सार्वजनिक विदाको माग
यो वर्ष तिथि अन्यौलका कारण कतै भदौ १४ गते र कतै भदौ १५ गते गाईजात्रा (सापारु) मनाउने तयारी भइरहेको छ । नेपाल सरकारले भने भदौ १४ गते मात्रै सार्वजनिक विदा घोषणा गरेको छ । तर काठमाडौंमा भदौ १५ गते गाईजात्रा मनाइने भएकोले काठमाडौंमा उक्त दिन पनि सार्वजनिक बिदा घोषणा गर्नुपर्ने माग संस्कृति अभियन्ताहरूले गरेको छ ।