आज पाटनको बुंगमतीमा मतयाः
ललितपुर, १४ भदौ । आज ललितपुरको बुंगमतीमा मतयाः पर्व मनाइँदैछ ।
ललितपुरको भित्री शहरमा भोलि मात्रै मतयाः निकालिने चलन भए पछि बुंगमतीमा भने त्यसको एक दिन अगावै मतयाः निकाल्ने परम्परा रहँदै आएको छ ।
आज साँझ ४ बजेतिर बुंगमतीस्थित रातो मत्स्येन्द्रनाथको बहालमा जम्मा भई त्यहींबाट यो मतयाः (यात्रा) आरम्भ गरिन्छ । यसमा खास गरी यही वर्ष दिवंगत भएका व्यक्तिका आफन्तहरू सहभागी हुने गर्छन् ।
रातो मत्स्येन्द्रनाथको बहालबाट शुरु भई बुंगमतीमा रहेका सबै बहाः, बही, चैत्य, चीभाः आदि परिक्रमा गरी चाँफलको पीठमा पुगेपछि यो यात्रा समापन हुन्छ ।
मतयाः जाने श्रद्धालुहरूले हरेक चैत्य, चीभाःमा पैसा, बत्ती, चामल, बिस्कुट आदि चढाउँदै जाने गर्छन् ।
करिब दुई घन्टाको यात्रा पछि मतयाः सकिन्छ ।
मतयाः निकालिने भएकोले यहाँ गाईजात्रा निकाल्नु पर्दैन ।
पाटन नगरमा भने भोलि मात्रै मतयाः निकाल्ने गरिन्छ । तर पाटनको मतयाःमा परिक्रमा गर्नुपर्ने स्थलहरू बुंगमतीमा भन्दा धेरै हुने भएकोले यो मतयाः समापन हुन दिनभरि जस्तै समय लाग्ने गर्दछ ।
