गाईजात्रामा नक्कलीहरुको बिगबिगी

काठमाडौं १५ भदौ । काठमाडौंमा आज मनाइरहेको सापारु (गाईजात्रा) पर्वमा नक्कली सहभागीहरूले हैरान बनाएको छ । यिनीहरू खास गरी गाईजात्रामा सहभागीहरूलाई विभिन्न ठाउँमा प्रदान गरिने दानका सामग्रीहरू हात पार्न त्यसरी आउने गर्दछन् ।

भारतका विभिन्न शहर लगायत तराईका विभिन्न ठाउँबाट काठमाडौं आएर बस्ने यी नक्कली सहभागीहरू पनि गाईजात्रा आएकै जसरी विभिन्न भेष धारण गरी भिडमा घुस्ने र दान थापेर जाने गर्दछन् । तर यिनीहरू एकचोटी थापेर गएको सामग्री कतै एक ठाउँ जम्मा पारी फेरि अर्को पटक पनि आएर थाप्ने गर्छन् ।

यस पटक भने यिनीहरूलाई रोक्न गाईजात्रा व्यवस्थापन समूहले ठाउँ ठाउँमा नगर प्रहरी परिचालन गरी हनुमानढोका परिसरमै आउन दिएन । यिनीहरू बिष्णुमती कोरिडर क्षेत्रमा बसेर गाईजात्राको भेष बनाउने र त्यहाँबाट बसन्तपुर छिर्ने गरेका थिए । नगर प्रहरीले केही नक्कली सहभागीहरूलाई भिमसेनथानमै रोकी त्यहीं रहेको ढुंगेधारामा बन्द गरेका थिए ।

त्यस्तै केही नक्कली सहभागीहरूलाई भूगोल पार्क भित्र पनि बन्द गरी राखिएको थियो ।

नक्कली गाईजात्रेहरूलाई नियन्त्रण गर्न खटिनुभएका सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठका अनुसार यी नक्कलीहरूलाई त्यसरी खटाएर उनीहरूले मागेर ल्याएका सामग्रीहरू संकलन गर्ने ठेकेदार नै रहेको थाहा भएको छ । उक्त ठेकेदारले साना बालबालिका र ठूलालाई समेत प्रतिव्यक्ति १५०० रुपैयाँ ज्याला दिई उनीहरूले ल्याएका सामानहरू संकलन गर्ने गर्दछन् । पछि ठेकेदारले ती सामानहरू सस्तोमा पसलमै बेच्ने गरेको पनि थाहा भएको छ । ती ठेकेदार को हुन् भन्ने अहिले थाहा नभए पनि अब त्यसको पनि खोजी भइरहेको श्रेष्ठले बताउनुभयो ।

यसै क्रममा आज जात्रालुहरूको मोबाइल चोरेर भागेका एकजनालाई पक्राउ गरेको छ । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ ।