बालेनका सामू किन लाचार छ, सिंहदरबार ?

काठमाडौं, १७ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले शनिबार राती ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
भन्दै सामाजिक सञ्जालमा एक सन्देश लेखेपछि त्यो सन्देशले एक ढंगको तरंग सिर्जना गरिदिएको छ । तर, बालेलनले राज्य र कानुनलाई नै खुला चुनौति दिएको यो पहिलो पटक भने होइन । बालेनले गत चैत २५ गते सामाजिक सञ्जालमा ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन ।
साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’ भन्दै विवादास्पद् अभिव्यक्ति दिएपछि त्यतिबेला मेयर बालेनको आलोचना भएको थियो । सामाजिक सञ्जालमा निकै राम्रो फलोअर्स रहेका कारण अराजक अभिव्यक्तिमा हौसिदैँ आएका मेयर साहले गत वैशाख १९ गते ‘नयाँ–पुराना सबै नेताहरू चोर हुन्’ भनेर अर्को अभिव्यक्ति दिए । फेरि असार ७ गते ‘कानुन र अदालत मान्दिनँ’ भन्दै अराजक अभिव्यक्ति दिएका बालेन साह एकपछि अर्को गर्दै सरकारप्रति आक्रमक रुपमा अराजक अभिव्यक्तिसहित खनिने गरेका छन् । तर, सरकार भने मेयर साहका सामू निरीह बन्दै आएको छ ।
एकपछि अर्को अभिव्यक्तिमा सरकार मौन बसेपछि हौसिएका मेयर साहले सीमा नाघेरै अराजक अभिव्यक्ति दिदाँ पनि सरकार भने निरीह बन्नुले सरकार कतिसम्म कमजोर धरातलमा उँभिएको छ भन्ने समेत सन्देश दिएको छ ।
शनिबार बेलुका साहले लेखेको स्ट्याटसमा साहले विषयबस्तुको उठान गरे पनि विषयबस्तु के–हो खुलाएका छैनन् । तर, मेयर साहका अभिव्यक्ति हेरेर तुरुन्त धारणा बनाई हाल्ने नेपालीहरुले मेयर साहले त्यो कुन सन्दर्भमा लेखेको हुन् भन्ने समेत भेउ नपाई प्रतिक्रिया दिएका छन् ।
मेयर साहले नै अपुष्ट सूचना दिएपछि मिडियाले तथ्य खोज्ने प्रयास गरेका छन् । साहले त्यस्तो अभिव्यक्ति आफ्नी सविना काफ्लेले सरकारी नम्बर प्लेटको सवारीमा यात्रा गरेको अवस्थामा नियमित चेकजाँच गर्दाको अवस्थासँग जोडेर दिएको हुन् भन्ने तथ्यहरु बाहिर आएका छन् । मेयर साहको सचिवालय र अस्पताल स्रोतलाई आधार मान्दा साह दम्पत्तीले आज भन्दा झण्डै १० दिन अघि नै बच्चा जन्माएका हुन् । दुई मध्ये एक बच्चालाई भने बचाउन नसकिएको अस्पताल निकट स्रोतले जनाएको छ । अर्को बच्चाको स्वास्थ्यमा केही समस्या भएपछि ललितपुरको मेडिसिटी अस्पतालकै एनआईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
यद्यपि, मेयर पत्नी सविना भने दुई दिनअघि नै डिस्चार्ज भइसकेकी हुन् । शनिबार बेलुकाको घटना अनुसार मेयर पत्नी सवार पासबिनाको गाडीलाई नियमित जाँचमा रहेको ट्राफिकले सामान्य सोधपुछ गरेर छाडिएको थियो ।
शनिबार साँझ करीब ८ बजेर ५० मिनेटतिर सो गाडी चेकमा परेको थियो । त्यस लगत्तै बालेनले फेसबुकमा अराजक टिप्पणी लेखेर तरंग ल्याइदिए । उनको त्यो अराजक टिप्पणीको आलोचना हुन थालेपछि साहले आफु निकटको पेजबाट आइतबार बिहान पुत्रीलाभ भएको गोलमटोल सूचना सार्वजनिक गर्न लगाए । तर, त्यो सूचना समेत गलत सावित भएपछि रुटिन अफ नेपाल बन्दले सच्याउन बाध्य भयो । केही घण्टा अघि मेयर दम्पत्तीलाई पुत्रिलाभका लागि भन्दै बधाई दिएको सो पेजले एकछिनपछि सूचना सच्याएर केही दिन अघि भनी सम्पादन गर्यो ।
यसरी एकपछि अर्को गर्दै एउटा स्थानीय तहको मेयरले धम्की दिदाँ समेत सरकार निरीह बनेपछि धेरैले सरकारको अझ खुलेर आलोचना गर्न थालेका छन् । एउटा स्थानीय तहको मेयरका सामू सरकार र समग्र गृह प्रशासन नै लाचार बन्नुको कारण के–होला ? भन्ने कुतुहलता समेत सिर्जना भै दिएको छ । यहि सन्र्दभलाई जोडेर सञ्चारकर्मी विमल नेपालले चार सवाल भनेर सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । उहाँको चार सवाल यस्तो छ ।
बालेन स्टाटस प्रकरण’का चार सवाल–
१. बालेनलाई हार्ट अट्याकनै भएर अस्पताल लैजाँदै गरेको भए पनि ट्राफिक प्रहरीले शनिबार गुडेको सरकारी गाडी चेक गर्न पाउँछ । पाउँछ मात्रै होइन, गर्नै पर्छ ।
२. नेतालाई चोर भन्नु चाहिँ असभ्य र अराजक भाषा मात्रै होला तर देशको प्रमुख प्रशासनिक केन्द्रमा खुलेआम आगो लगाउछु भन्नु अपराध हो । उनले त्यतिधेरै धेरै धम्की दिँदा पनि चुपचाप बस्नु राज्यको निरीहता हो ।
३. सविना सुत्केरी भएकी हुन् कि होइनन्, छोरा जन्माइन् कि छोरी ?, कहिले जन्माइन् भन्ने कुरा बेग्लै हो । मेयरले देशको प्रशासनिक केन्द्र जलाउछु भनेर धम्की दिनु बेग्लै कुरा हो ।
४. बोलेनले शनिबार जे लेखे पनि, बोले पनि, गरे पनि छुट हुने व्यवस्था भए बेग्लै कुरा, नत्र किन यतिन्जेल उनी पक्राउ परेको समाचार आउँदैन ?