खोकनामा आजदेखि नुहाउन समेत बन्द

ललितपुर, १६ भदौ । सांस्कृतिक नगरी खोकनामा आजदेखि नुहाउन र कपडा धुन समेत बन्द भएको छ ।

खोकनाको ऐतिहासिक रुद्रायणी (सिकाली) देवीको बाह्र वर्षे जात्रा शुरु हुन लागेका कारण आजदेखि एक महिनाका लागि खोकनामा बाजा बजाउने, विवाह, व्रतबन्ध जस्ता शुभकार्य गर्ने, गाउँमा शंख घन्टी बजाउने, छालाबाट निर्मित वस्तुहरू जस्तो पेटी, जुत्ता, झोला आदि प्रयोग गर्न नमिल्ने भएको हाे ।

बाह्र वर्षे जात्राको तयारीका क्रममा एक महिनासम्म श्री रुद्रायणी देवी (सिकाली) लाई बन्द कोठामा गुप्तवास राखिने भएकोले अबको एक महिना खोकनावासीहरूले विभिन्न नियमहरू पालना गर्नुपर्नेछ ।

आजबाट शुरु हुने यो नियम आउँदो इन्द्रजात्राको पूर्णिमासम्म कायम हुनेछ । त्यसपछि आउने दशैंको तृतियादेखि इन्द्रायणीको बाह्र वर्षे नाच शुरु हुन्छ ।

यस क्रममा गाउँमा नाचगान लगायत मनोरञ्जनका कुनै कार्य गर्न नहुने, टेलिभिजन समेत हेर्न नहुने, रातो सिन्दुर लगाउन नहुने, रक्सी पार्ने मना बनाउन नहुने, नयाँ घर बनाउन जग साइत गर्न नहुने, गाउँका कोही पनि मानिसले बाहिर रात काट्न नहुने र बाहिरकालाई पनि गाउँमा बास दिन नहुने जस्ता नियमहरू पालना गर्नुपर्ने हुन्छ ।

खोकनाका समाजसेवी शरणगोपाल डंगोलका अनुसार यस बीचमा यदि नुहाउनु परेमा वा लुगा कपडा धुन परेमा गाउँ बाहिरका आफन्तको घरमा गएर गर्नुपर्ने हुन्छ ।

यो वर्ष मनाइने बाह्र वर्षे रुद्रायणी देवीको नाच खोकनामा मात्र सीमित नगरी काठमाडौं र पाटनका समेत विभिन्न ठाउँमा नचाउने गरिन्छ ।

काठमाडौंमा पचली भैरवको बाह्र वर्षे नाच चलिरहेकै बेला खोकनामा रुद्रायणी देवीको पनि बाह्र वर्षे नाच चलाउने गरिन्छ । यी देवता बिच सम्बन्ध रहेको किंवदन्ती पाइन्छ ।