एमाले कोशी प्रदेश अधिवेशनमा रातभर मतदान, मतगणना आज दिउँसाे हुने
विराटनगर, १५ असोज । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि आइतबार रातभरि मतदान भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी भएकाे हाे ।
कार्यालयले आइतबार राति साढे १० बजेदेखि मतदान सुरु गरेको थियो । आज बिहान साढे ५ बजे मतदान सकिएको कार्यालयले जनाएकाे छ ।
आइतबार दिउँसो १ बजेबाट सुरु गर्ने भनेको मतदानको समय तयारी नपुगेको भन्दै पटक–पटक समय सारेर आइतबार राति साढे १० बजेबाट मात्र सुरु गरिएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९७७ जनाले मतदान गरेका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा ९९७ जना प्रतिनिधि उपस्थित भएकामा २० जनाले मतदान गरेनन् ।
अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो ।
मतगणना आज दिउँसो १ बजेबाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।