कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदै

विराटनगर, १ कात्तिक । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत माग्नुभएकाे छ ।
गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे उहाँले बुधबार प्रदेशसभाकाे बैठकलाई सम्बाेधन गर्दै विश्वासको मत माग्नुभएकाे हाे ।
आज १ बजेर ५ मिनेटमा सुरु भएको प्रदेशसभा बैठकमा आफ्नो सरकारलाई विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूले सिद्धान्त र विचारमा विचलित नभई जनताका आवश्यकता र चाहना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सरकार गठनकाे अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेकाे बताउँदै उहाँले राज्यका हरेक निकायमा जनताकाे पहुँच पुर्याउनका लागि काम गर्ने पनि बताउनुभयाे ।
कोशी प्रदेशसभामा ९३ सदस्य हुनुहुन्छ र बहुमतका लागि ४७ मत चाहिन्छ ।
गत असोज २७ मा उहाँलाई नेपाली काङ्ग्रेसका आठ र नेकपा एमालेका ३९ जनाको समर्थन प्राप्त भएको थियो ।
९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् ।