विद्यालयका लागि जग्गा खरिद गर्न देउसीभैलोबाट करिब नौ लाख सङ्कलन
काठमाडौँ, मंसिर २ । हुम्लाको अदानचुली गाउँपालिका ३ स्थित छत्रपाल आधारभूत विद्यालयको जग्गा खरिद तथा परिसर विस्तारका लागि देउसीभैलो कार्यक्रमबाट आठ लाख ९५ हजार ६११ रुपियाँ सङ्कलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विस्तारका लागि आवश्यक जग्गा खरिद गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक जगत्बहादुर भियालले जानकारी दिनुभयो ।
उहाँका अनुसार देउसीभैलोबाट सङ्कलित रकममध्ये विद्यालयका शिक्षक अखिल भण्डारीले ५० हजार रुपियाँ र प्रधानाध्यापक भियालले २५ हजार रुपियाँ सहयोग गर्नुभएको छ ।
कार्यक्रममा सबैभन्दा बढी आर्थिक सहयोग गाउँपालिका ३ बाट प्राप्त भएको उहाँले बताउनुभयो ।
विद्यालयको परिसर साँघुरो भएकाले आवश्यक जग्गा खरिद गरी शैक्षिक गतिविधि सञ्चालनका लागि उपयुक्त वातावरण तयार गर्ने उद्देश्यले स्थानीयवासीको सहयोगमा रकम सङ्कलन गरिएको हो ।
