जैमिनी नगरपालिका सुकुम्बासीमुक्त घोषणा
काठमाडौँ, मंसिर २ । बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान भएको पालिका घोषणा भएको छ । भूमि समस्या समाधान समितिले देशभरका पाँच स्थानीय तहलाई सुकुम्बासीमुक्त घोषणा गरेकामा जैमिनी नगरपालिका पनि परेको हो ।
समितिले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार सुकुम्बासीमुक्त घोषित अन्य स्थानीय तहमा डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन् ।
जैमिनी नगरपालिकाले गत वर्ष १८ सुकुम्बासी परिवारलाई जग्गा खरिद गरी घर निर्माण गर्न प्रतिपरिवार तीन लाख रुपियाँका दरले कुल ५४ लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
नगरपालिकाको सहयोगमा ती परिवारले घडेरी खरिद गरी घर निर्माण गर्नुका साथै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) समेत प्राप्त गरेपछि पालिकामा सुकुम्बासी समस्या नरहेको विवरण भूमि समस्या समाधान समितिलाई पठाइएको नगर उपप्रमुख हरिहर शर्माले राससलाई जानकारी दिनुभयो ।
यससँगै जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने देशका पाँच स्थानीय तहमध्ये एक बनेको छ ।
