भक्तपुरमा आज खःमेय् जात्रा मनाइँदै

भक्तपुर, ६ कात्तिक । महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु (रा“गो दौडाउने) जात्रा आज मनाइँदैछ ।

धार्मिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुप मानी खःमेय् जात्रा मनाइने परम्परा छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रा विजयादशमीको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ ।

भक्तपुरको नवदुर्गा मन्दिरमा पालेर राखेको ठूलो राँंगो खम्येलाई दौडाएर उल्लासयमय रुपमा जात्रा मनाइन्छ ।

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुनेहुँदा त्यसरुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरुप यस दिन खःमेय्लाई बलिपुजा गरी जात्रा मनाइन्छ ।

नवदुर्गा द्योःछें(देवगृह)मा राखिएका खःमेय्लाई जाँडको कट खुवाएर, जिऊभरी सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरुप पुजाआजा गरी नवदुर्गा द्योःछेवाट बाहिर निकाली दौडाएर व्रम्हायणी पीठसम्म पुर्‍याइन्छ ।

नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्करसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरी कुनै घाउचोट नलागेको, कम्तिमा पनि एकसय धारनी तौल भएको मोटोघाटो चाहिन्छ ।

महिषासुरको प्रतीक खम्येलाई अन्तमा भक्तपुर नगरको पूर्वमा अवस्थित ब्रम्हायणीमा पुयाइन्छ । खम्येलाई नौरथाको नवमी कालरात्रीमा त्यही वध गरिन्छ । राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्छ ।

खःमेय्को स-साना मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी वनाई, धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मीपुजाको दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाशहुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहेको छ ।

महानवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन ब्रम्हायणीमा ठूलो मेला लाग्छ । मेला भर्न हज्जाराैं श्रद्धालु ब्रम्हायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् ।

नवदुर्गा गणका मुल नाइके इन्द्रबहादुर बनमालाले महिषासुररुपी राँगो नवमीसम्म मन्दिरमै पालेर राखिने जनाए । यसअघि राँंगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीकोवीचमा नवदुर्गा देवताघरमा भित्राइन्छ । खम्ये पालिराखेको यो मन्दिरमा प्रत्येक वर्ष विजया दशमीको दिन राष्ट्रप्रमुख (राष्ट्रपति) दर्शनका लागि आउने चलन छ ।

यसरी महिषासुरको प्रतीकका रुपमा राँगो जात्राका लागि मन्दिरमा चढाउने राँगो ठूलो र निख्खर कालो हुनुपर्छ । यसका लागि सधैं तलेजु मन्दिरका पदाधिकारीको संलग्नतामा विभिन्न ठाउँमा भनेजस्तो राँगो खोजिन्छ र आवश्यक पैसा इच्छाएको व्यक्तिले राखिदिने चलन छ ।

भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले पैसा तिरेर राँंगो चढाइदिने चलन छ । वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले राँंगो जात्राका लागि राँगो दिने गरेका छन् । प्रत्येक वर्ष राँगो किनेर नवदुर्गा मन्दिरमा चढाउन प्रतिस्पर्धाजस्तै हुन्छ । चढाउन चाहने भक्तजनले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ ।