राष्ट्र संघका महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु
काठमाडाैं, १५ कात्तिक । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षककाे लेक लागेर मृत्यु भएको छ ।
गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको हाे ।
प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टर मार्फत अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।
गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए । गन्तव्य स्थान नपुगेपछि ढुंगाना वडाध्यक्षको घरमा बसेका थिए ।
उनकाे बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।