जाजरकोट भूकम्प : नाै सय १० वटा भवन पूर्ण रूपमा क्षति
काठमाडाैं, १९ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:४७मा गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ९१० वटा घर पूर्ण रूपमा क्षति पुगेको छ ।
जाजरकोट र रूकुम पश्चिममा गरी ९१० वटा घरलगाएतका संरचनामा क्षति पुगेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको हाे।
यस्तै २ हजार ८६१ घरहरूमा आंशिक रूपमा क्षति पुगेको छ। जाजरकोट, रूकुम पश्चिमसँगै कर्णाली प्रदेशका अन्य केही जिल्लाका केही घरहरूमा पनि आंशिक रूपमा क्षति पुगेको छ।
भूकम्पका कारण दुई जिल्लामा मात्रै १५७ जनाको मृत्यु भएको छ । जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको थियो।
जाजरकोट र रूकुम पश्चिममामा विपद् व्यवस्थापनको लागि प्रहरी मात्रै एक हजार ६४ जना खटिएकाे कार्यालयले जनाएकाे छ ।
त्यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेनाको पनि छुट्टाछुट्टै टोली खटिएर उद्धार तथा व्यवस्थापनको काम भइरहेको छ।
भूकम्पमा परी साढे २ सय बढी मानिसहरू घाइते भएका छन् भने ११० जना विभिन्न अस्पतालमा उपचाररत छन्।