जाजरकोटमा गएकाे भूकम्पले २१३ वटा विद्यालय भवनमा क्षति

जाजरकोट, २० कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:४७मा गएको ६.४ म्याग्नेच्युडको भूकम्पले जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका भवनमा क्षति पुर्याएकाे छ ।

जाजरकोटको पछिल्लाे विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

भूकम्पले विद्यालयका ३६६ वटा कक्षाकोठाहरु पुर्ण रुपमा ध्वस्त भएका छन् भने ४७६ वटा कक्षा कोठाहरुमा आंशिक रुपमा क्षति भएको छ ।

भूकम्पले विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकालय, ७ वटा ठाउँमा विद्यालयका घेरा बारहरु र ४ वटा सोलार सिस्टमहरु पुर्ण रुपमा ध्वस्त भएका छन् ।

नेपाल प्रहरीका अनुसार ३५ वटा शौचालयमा आंशिक क्षति पुगेको छ । प्राप्त विवरण अनुसार भुकम्पमा परी एक जना शिक्षक, ११ जना विद्यार्थीको मृत्यु भएको छ भने दुई शिक्षक र २० जना विद्यार्थी घाइते भएकाे तथ्यांकमा उल्लेख छ ।