अछाममा अटोरिक्सा दुर्घटना : दुईजनाको मृत्युु, चारजना घाइते

अछाम, ३० कात्तिक । अछाममा अटोरिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५५४५ नम्बरको अटोरिक्सा गएराति करिब १२ बजे मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका अटोरिक्सा चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयाे ।

उहाँका अनुसार दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् ।

उनीहरुको कमलबजार स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।