विद्युत् आयोजनाको लापरवाही : भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा वृद्धकाे मृत्यु

बागलुङ, १ मङ्सिर । बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको लत्रिएको बिजुलीको तार कुल्चिँदा करेन्ट लागेर आज मृत्यु भएको हो ।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिनुभयो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्युत् आयोजनाको लापरवाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप छ ।