सात दिनपछि सामान्य अंक बढ्याे नेप्से

काठमाडाैं, २० मंसिर । नेप्से परिसूचक सात दिनपछि सामान्य अंक बढेकाे छ । पछिल्लो सात कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, बुधबार सामान्य अंक बढेर बन्द भएको हाे।

बुधबार नेप्से परिसूचक ३.३३ अंक बढेर १८४१.०४ विन्दुमा पुगेको छ । यस दिन फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबारका दिन डेढ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २९३ स्टकको ३४ हजार ९७१ पटकको कारोबारमा १ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको ३७ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ७८ रुपैयाँ बढेर ८५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन विजय लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने मन्दाकिनी हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर र गणपति लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ९.१३ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ।