‘बाजुराकी एक महिलाले बाटोमै जन्माइन् बच्चा’
बाजुरा, २० मंसिर । बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् ।
बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा लागेपछि बाटोमै छोरीलाई जन्म दिएकी हुन् ।
सुत्केरी व्यथा लाग्ने वित्तिकै रोकाया एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा सुत्केरी व्यथा लागेको अवस्थामा रोकायालाई देखेपछि सहयोग गरेकी थिए ।”
रोकायालाई बच्चा जन्माइसकेपछि अत्यधिक रक्तस्राव भएकाले बाटोबाट उद्धार गरी स्वास्थ्य चौकी लगिएको चदाराले बताउनुभयो । उनीसँग अरु कोही आफन्त नभएको भन्दै एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा व्यथा लागेपछि बाटोमा बच्चा जन्माएकी उहाँको भनाइ थियो ।
रोकायाका यसअघि एक छोरा र एक छोरी छन् । उनले तीनै सन्तान बाटोमै जन्माएकी छन् । बाजुरामा रोकाया मात्र नभइ धेरै आमा बाटोमै बच्चा जन्माउन बाध्य छन् । केही महिना पहिला काँडाकी ३२ वर्षीया उज्जली सुनारले पनि बाटोमै छोरी जन्माएकी थिइन् ।
बाजुराका आमाहरुको प्रजनन् स्वास्थ्य निकै दयनिय अवस्थामा रहेको बडिमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताउनुभयो । कडा परिश्रम, धेरै र कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, पौष्टिक आहारको कमीलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
