भिरबाट खसेको ढुङ्गा लागेर महिलाको मृत्यु
बाजुरा, २१ मंसिर । बाजुराकाे बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ ।
गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिनुभयो ।
घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते हुनुभएको हो । भिरबाट खसेको ढुङ्गा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताउनुभयो ।
