नक्कली नोटकाे बिगबिगी : १८ लाख भन्दाबढी नेपाली नक्कली नोटसहित रौतहटबाट सन्दीप यादव पक्राउ

काठमाडाैं, १९ पुस । नेपालकाे प्रमुख शहरलगाएत भारतीय नाकाहरूमा अहिले नेपाली नक्कली नोटकाे बिगबिगी छ । आज प्रहरीले रौतहटबाट १८ लाख भन्दा बढी नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादवलाई सार्वजनिक गरिएको हो।

उनको साथबाट नेपाली १ हजार दरको १८ सय ४३ थान अर्थात १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।

विशेष सूचनाको आधारमा बुधवार देवाही गोनाही नगरपालिका ८ पटेल चौकमा प्रहरीले गरेको चेकजाँचमा यादवको साथबाट उक्त नक्कली नोटका साथै बिभिन्न बैंकको ५ थान एटिएम, १६ लाख ६५ हजार लेखिएको ३ थान चेक र ओपो कम्पनीको मोबाईल एकथान बरामद भएको जनाइएको छ।

यादवले नक्कली नोटको कारोबार गरिरहेको प्राप्त सूचनाको आधारमा पछिल्लो ३ महिना देखिको प्रहरी उनकाे निगरानीमा रहेका थिए ।

उनीमाथी प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाइएको छ ।