राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्दै आयोग

काठमाडाैं, २० पुस । राष्ट्रिय सभा निर्वाचनका लागि आज निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गर्दैछ ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्न लागेको हो।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।

आयोगले पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर राष्ट्रिय सभा निर्वाचनका लागि यसपालि नयाँ मतभार कायम गरेको छ।

जसअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ तोकिएको छ।

यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियो। यस्तै प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको १८ थियो।

आज बिहान १० बजेदेखि ११ बजेभित्र मतदाता नामावली प्रकाशन गरिसक्ने र त्यसमा आज दावी विरोधको उजुरी दिन ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ।

उक्त दावी विरोधउपर छानबिन गरी आयोगले आइतबार (पुस २२ गते) अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ।