ङालाकेगु जात्रा
मल्लकालीन ङालाकेगु जात्रा भक्तपुरमा सुरु, जात्रा २१ टोलमा प्रदर्शन गरिने

भक्तपुर, ४ माघ । मल्लकालीन नवदुर्गा गणको ङालाकेगु जात्रा बुधबारदेखि भक्तपुर –९ सूर्यमढीबाट सुरु भएको छ ।
नवदुर्गा गणको नाच ङालाकेगु जात्रा प्रत्येक दिन नगरपालिका क्षेत्रका फरकफरक २१ टोलमा प्रदर्शन गरिने देवगणका सदस्य नारायणमान बनमालाले जानकारी दिनुभयो ।
तान्त्रिक एवं दैवी शक्तिका आधारमा प्रदर्शन गरिने यो जात्रा भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँ, टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरकफरक दिनमा टोलटोलमा प्रदर्शन गरिन्छ ।
माघ १ गतेदेखि सूर्यमढी टोल परिक्रमा गरी २ गते ङालाकेगु जात्रा हुन्छ । ङालाकेगु जात्रा ३ गते तचपाल, ४ गते क्वाठन्डौ, ५ गते टोल परिक्रमा, ६ गते गछेँ, १९ गते साँखु, २३ गते चाँगु र २४ गते भनपा फर्किने परम्परा छ ।
त्यस्तै, फागुन ३ गते टोल परिक्रमा गरिन्छ । फागुन ४ गते दथुत्वचा, ५ गते टोल परिक्रमा, ६ गते इनाचो, ७ गते गोलमढी, ८ गते याछेँमा टोल परिक्रमा हुन्छ । १० र ११ गते काभ्रे, साँगा, १२ गते टोल परिक्रमा, १३ गते टौमढी, १४ गते तालाक्व, १५ गते टोल परिक्रमा, १६ गते मुलाखु, १७ गते टोल परिक्रमा, १८ गते गःहिटी, १९ गते टोल परिक्रमा, २० गते क्वाछेँ, २१ गते टिबुक्छेँ, २२ गते टोल परिक्रमा, २३ गते गोरचाँ, २४ गते टोल परिक्रमा, २५ गते खौमा, २९ गते टोल परिक्रमा, ३० गते इताछेँमा जात्रा हुन्छ । चैत २ गतेदेखि काभ्रेको नाला, धुलिखेल, खण्डपुरलगायत ६ दिनसम्म ङालाकेगु जात्रा हुने गर्छ ।
पाहाँ चरेपछि बालाखु टोल, त्यसपछि मातातीर्थ औँसीनिर काभ्रेको बनेपा र पनौती नपामा ङालाकेगु जात्रा हुने गर्छ । त्यसपछि भक्तपुरकै तुलाछेँ र चोछेँमा हुन्छ । यस वर्षको ङालाकेगु जात्रा सितिनखाको आठ दिनपश्चात् दरबार एरिया इछु टोलमा सम्पन्न गरिन्छ । यस जात्रा सञ्चालनमा जतिसुकै समस्या देखिए तापनि जात्रालाई निरन्तर सञ्चालन गर्न उजाजु (वनमाला) जातिको महत्वपूर्ण भूमिका देखिन्छ ।
उहाँका अनुसार नवदुर्गा नाचमा १३ मकुन्डो रहने र मकुन्डो लगाएर १२ देवगणले नवदुर्गा नाच नाच्ने यो परम्परा धान्न नवदुर्गाका १९ देवगण रहने गर्दछन् । यसमा भैरव, महाकाली, बाराही, गणेश, बह्मयणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् ।
परम्परागत वेशभूषामा बाजाको तालमा देवताका प्रतीकका रुपमा देवगणले नाङ्गो खुट्टाले नै सो नाच प्रदर्शन गर्ने गर्दछन् । जात्रामा नाचका लागि आर्थिकलगायतका विभिन्न समस्या रहेकाले सहयोग हुनुपर्ने माग देवगणले गरेका छन् ।
स्थानीय नेपाल भाषामा ङालाकेगु भनिने मल्लकालीन प्रख्यात नवर्दुगा नाचको थालनी भक्तपुरका राजा भुवन मल्ल (इ सं १५०५देखि १५१९)ले प्रचलनमा ल्याएको इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले नेपाल संवत् ६३३ (इ सं १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तान्त्रिक विधिअनुसार दैवी शक्तिको आव्हान गरि नवदुर्गा नाचको प्रचलन चलाएको जानकारी दिनुभयो ।