रुकुमपश्चिमबाट नौ करोडको अदुवा बिक्री

रुकुमपश्चिम, ४ माघ । व्यवसायिकरूपमा अदुवाखेती गर्नुभएका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताउनुभयो ।

गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मूल्य दिँदा बिक्रीबाट रु एक लाख आम्दानी भएको उहाँको भनाइ थियो । विगत २० वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका खड्काले निरन्तर अदुवाखेती गर्दै आउनुभएको छ ।

यस वर्ष उत्पादन भएको तीन क्विन्टलभन्दा बढी अदुवा बीउको लागि र १२ क्विन्टल अदुवा प्रतिक्विन्टल रु चार हजारदेखि रु आठ हजारका दरले बिक्री गरेकोे खड्काले बताउनुभयो । सोही ठाउँकै ५५ वर्षीय किसान हरिबहादुर खड्काले यस वर्ष अदुवा उत्पादनमा केही कमी भए पनि मूल्य भने राम्रो पाइएकामा भने खुसी भएको बताउनुभयो ।

विगत ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आउनुभएका उहाँले यस वर्ष अदुवा बिक्रीबाट रु एक लाख ५० हजार आम्दानी गरेको बताउनुभयो । अदुवा गाउँबाटै प्रतिक्विन्टल रु चार हजार र बीउको लागि प्रयाेग हुने अदुवा प्रतिक्न्विन्टल रु आठ हजारदेखि रु १० हजारसम्ममा बिक्री भएको थियो ।

जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाए पनि गत वर्षको तुलनामा यस वर्षमा उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो ।

त्यस्तै सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिकामा पनि केही मात्रामा अदुवा उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो ।

यस वर्ष जिल्लाबाट एक हजार छ सय मेट्रिक टन अदुवा बिक्री हुँदा रु आठ करोड ८० लाख आम्दानी भएको छ भने अझै केही अदुवा बिक्री गर्न बाँकी छ । अदुवा उत्पादनबाट रु ४० हजारदेखि रु पाँच लाखसम्म किसानले आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । अदुवा उत्पादन गर्ने किसानको सङ्ख्या जिल्लामा चार सय हाराहारीमा भए पनि व्यावसायिकरूपमा अदुवाखेती गर्ने किसानको सङ्ख्या ६० देखि ७० रहेको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो ।

सामान्य खेती गर्ने किसानले दुई रोपनीदेखि व्यावसायिकरूपमा खेती गर्ने किसानले ३० रोपनी जग्गामा अदुवाखेती गर्ने गरेका छन् । “गत वर्ष जिल्ल्लामा प्राङ्गारिक कृषक प्रमाणित भएका तीन सय एक किसानले उत्पादन गरेको अदुवा सुर्खेतमा रहेको द अग्र्यानिक भ्यालीसँग समन्वय गरेर कृषि विकास कार्यालयले बिक्री गरेको थियो । यस वर्ष भने व्यापारीले किसानकै बारीमा आएर अदुवा खरिद गरेकाले बजारको समस्या भएन । किसानले आफैँ राम्रो मूल्यमा अदुवा बिक्री गरेका छन्”, उहाँले भन्नुभयो । जिल्लामा उत्पादन भएको अदुवा दाङ, नेपाजगञ्ज र काठमाडौँसम्म जाने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *