चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै एघार गैँडा मरे

चितवन, २३ माघ। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा मात्रै ११ वटा गैँडा मृत भेटिएका छन् ।

मृत भेटिएकामध्ये दुई वटा चोरी सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर, जुधेर, बाघको आक्रमणमा परेर र बुढो भएर मरेका थिए ।

सोमबार पश्चिम चितवनको राप्ती नदी किनारमा मृत भेटिएको भाले गैँडा बुढो भएर मरेको र अन्दाजी ३० वर्षको सो गैँडाको खाग, खुर सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।