कोशी प्रदेश सरकार र पहिचानवादी पक्षधरबीच पाँच बुँदे सहमति
काठमाडौं, २६ माघ । कोशी प्रदेश सरकार र पहिचानवादी पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । सरकारद्वारा शुक्रबार भएको गठित वार्ता समिति र पहिचान पक्षधर संयुक्त संघर्ष समितिबीच सहमति जुटेको हो ।
सहमतिको पहिलो बुँदामा प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवम् आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने उल्लेख छ ।
दोस्रोमा आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने भनिएको छ ।
यसैगरी आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचार तथा मृतकका परिवारलाई क्षतिपूर्ण व्यवस्था गर्न प्रदेश सरकार तयार भएको छ । चौंथो बुँदामा पहिचानको आन्दोलनका क्रममा कारागारमा रहेकाहरुको रिहाई र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ता प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने उल्लेख गरिएकाे छ ।
अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने भएका छन् ।
यसअघि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारले गत जेठ २४ मा प्रदेश नामाङ्कनको विरोधमा आन्दोलनमा उत्रिएको पहिचान पक्षधरसँग वार्ताका लागि सरकारी वार्ता टोली गठन गरेको थियो।