लगलासप्तमीको दिन नित्य पुजाको लागि चोखो जल लिदै ब्रतालुहरु
काठमाडाैं, ४ फागुन । प्रत्येक वर्ष माघ शुक्ल सप्तमीका दिन साँखुमा माधवनारायणका वर्तालुले मनाउने लगला सप्तमी पर्व आज विधिपूर्वक मनाइदै छ ।
लगला सप्तमीका दिन विशेषगरी वर्तालुले सल्लाको काठमा कपडा बेरेर तेलमा चोपी बालेर पाएसम्म नरिवलको जटा र नपाएमा सालको पातको टपरीमा राखेर शालीनदीमा बगाउने गरिन्छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने र पाप पखालिई पुण्य पाइने विश्वास छ ।
बिहानी समयमा यसरी बत्ती बगाएपछि दिउँसो साँखु बजारमा माधवनारायणलाई रथमा राखी घुमाइन्छ । यसअघिका दिन माधवनारायणलाई हातमा बोकी हिँडाउने गरेकामा आज भने रथमा राखी घुमाइन्छ ।
माधवनारायण घुमाउने बाटोमा साँवागणले नाग बनाउने चलन पनि छ । माधवनारायणको रथयात्रामा पुरुष वर्तालुले नाग बनाएका स्थानमा गुल्टिने र सहस्रधारा बोक्ने गर्छन् । महिला वर्तालुले भने फूल प्रसाद चढाउँदै हिँड्छन् ।
माधवनारायणको रथयात्रा घुमाउने क्रममा माध गीतसमेत गाइन्छ। यो गीत भने बारअनुसार गाउने प्रचलन छ । यो गीतमा विशेषगरी भगवान्को नाम स्मरण गरिन्छ । यो प्रक्रिया पूरा गरी आज साँखु क्षेत्रमा लगला सप्तमी पर्व मनाइएको छ ।
माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए। माधवनारायण मेलामा यस वर्ष पनि भक्तजनको भीड लागेको छ ।
तस्बीर लायन विजयकृष्ण भास्कर