असफलसिद्ध भएका व्यक्ति त्रिविको उपकुलपति नियुक्त हुन्छन् : अध्यक्ष ओली
काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफलसिद्ध व्यक्ति नियुक्त हुनसक्ने बताउनुभएकाे छ ।
सोमबार काठमाडौंकाे बबरमहलमा भएकाे राष्ट्रसेवक सहकारीको भेलालाई सम्बोधन गर्दै उहाँले त्रिभुवन विश्वविद्यालयको उपकुलपति असफल व्यक्ति नियुक्त हुनसक्ने बताउनुभएकाे हाे ।
उहाँले सत्ताका लागि कम्प्रपाइज गर्नेहरु रहेको भन्दै उपकुलपतिमा भागवण्डा पनि नभई एकलौटी गरेको टिप्पणी गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘अहिले त नयाँ तरिका निकालेका छन् भागबन्डा नगर्ने, एकलौटी गर्ने । असफलसिद्ध मान्छेहरुको छनोट गर्ने, अहिले त्रिविको उपकुलपतिमा तीन जना सिफारिस भएको छ । यसाे छाँटकाट हेर्दा तीन जनामा तेस्रो चाहिँ नियुक्ति हुन्छन् कि जस्तो लाग्छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समिति बनाएका थिए ।
सिफारिस समितिले उपकुलपतिमा चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ ।
उहाँले भन्नुभयाे, ‘सहकारी नचाहिएकाहरु सहकारीका नाममा प्रवेश गरेका छन् । जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका छन् । तिनीहरूले धेरै मान्छेलाई डुबाए, आफू पनि बदनाम भए । ’