बालुवाटारमा फेरिएको दृष्यः एमाले रास्वपाको बाक्लो उपस्थिति, कांग्रेस शुन्य

काठमाडौं, २१ फागुन । गठबन्धनमा फेरबदलसँगै प्रधानमन्त्री निवास बालुवाटारको दृष्यमा केही फेरवदल देखिएको छ । शनिबारसम्म बालुवाटारमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको उपस्थिति शून्य जस्तै हुन्थ्यो । केही महत्वपूर्ण छलफल र भेटघाट बाहेक एमाले, रास्वपाका नेताहरु बालुवाटार पुग्दैनथे । नेपाली कांग्रेस, नेकपा समाजवादीलगयतका नेताहरुको भने बालुवाटारमा निकै बाक्लो उपस्थिति हुन्थ्यो ।

तर, आइतबारबाट त्यो दृष्यमा फेरबदल आएको छ । आइतबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डसँग निकै लामो छलफल गरेपछि फर्किनुभयो । फेरि साँझ ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर बालुवाटार पुग्नुभयो । बालुवाटारको भेटमा उपाध्यक्ष विष्णु पौडेलको समेत उपस्थितिपछि करीब ३ घण्टा छलफल भयो । त्यहि छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि सहभागी हुनुभयो ।

यसरी एमाले र रास्वपाका नेताहरुको जमघट बालुवाटारमा बाक्लो बन्दै गर्दा कांग्रेस नेताहरु भने बालुवाटार नभएर कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डतिर सहभागी भएका थिए । सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली आकस्मिक सचिवालय बैठक राखेर बालुवाटर नै पुग्नुभयो ।

उहाँसगैँ महासचिव शंकर पोखरेल पनि बालुवाटार पुग्नुभयो भने उपाध्यक्ष विष्णु पौडेल पनि बालुवाटार पुग्नुभयो । अहिले बालुवाटारमा रास्वपा सभापति लामिछानेसहित बैठक जारी रहेको एमाले स्रोतले जानकारी दिएको छ ।

आज सानो आकारको मन्त्री मण्डल बनाउने तयारीमा दलहरु जुटेका छन् । आजको मन्त्रिमण्डलमा रास्वपासहित उपेन्द्र यादवले नेतृत्व गरेको मधेसवादी दल पनि सहभागी हुने भएको छ । बालुवाटार मात्रै होइन आजको छलफलपछि सात वटै प्रदेशमा पनि मुख्यमन्त्री फेरवदलको तयारी सुरु हुने बुझिएको छ ।

पछिल्लो समय नेपाली कांग्रेससँग असन्तुष्ट बन्दै आउनु भएका प्रधानमन्त्री प्रचण्डले केही दिन अघि मात्रै पनि काँध फेर्न सकिने भन्दै गठबन्धन फेरबदलको सन्देश दिनुभएको थियो । नेपाली कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष दिन मञ्जुर माओवादी पछिल्लो समय आफ्नै दलबाट अध्यक्ष अघि सार्ने तयारीमा जुटेको छ ।

माओवादीमा पनि मुख्य गरेर उपमहासचिव वर्षमान पुन वाम एकताका पक्षमा बलियोसँग उभिँदै आउनु भएको छ । उहाँको सक्रियता बढेसँगै कांग्रेससँगको गठबन्धनमा फेरवदलको संकेत देखिएको थियो ।