अम्रिसोको मूल्य घटेपछि इलामका किसान निराश

इलाम, २१ फागुन अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । धान तथा मकै बाली हटाएर अम्रिसोको व्यावसायिक खेती गरेका किसानहरु मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् ।

अम्रिसोको मूल्य गतवर्षको तुलनामा झण्डै ५० प्रतिशतले घटेको छ । गत वर्ष प्रतिकेजी रु एक सय २० देखि रु एक सय ३० सम्ममा बिक्री भइरहेको अम्रिसोको फूल (कुचो) अहिले प्रतिकेजी रु ६५ मा मात्र बिक्री भइरहेको छ ।

इलाम माई नगरपालिका–९ का पूर्णकुमारी साउदेनले व्यापारीहरु किसानका घरमै पुगेर कुचो खरिद गरिरहे पनि मूल्य पनि अत्यधिक घटेको बताउनुभयो । “गतवर्ष सुरुमा नै प्रतिकेजी रु एक सय १० का दरले कूचो बेचेको थिएँ, त्यसपछि रु एक सय ३० सम्म समेत पुगेको थियो”, उहाँले भन्नुभयो, “यसवर्ष प्रतिकेजी रु ६५ का दरले बेच्न बाध्य भएका छौँ ।”

विगतमा राम्रो मूल्य पाएपछि किसानहरुले हौसिएर अन्य बाली हटाएर अम्रिसो खेती गरेका किसान अहिले निराश भएको किसान अभिषेक येक्तेनले बताउनुभयो । “अहिले अम्रिसोको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था समेत छैन”, उहाँले भन्नुभयो, “मैले यसवर्ष एक हजार केजी कुचो उत्पादन गरेको छु । त्यसको गोडमेल तथा कुचो तान्नका लागि प्रयोग गरिएको खेतालालाई दिने पैसा समेत नपुग्ने अवस्था छ ।”

यसरी मूल्य घट्दै जाने हो भने अम्रिसोको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको किसान पवन राई बताउनुहुन्छ । अन्य बालीको तुलनामा कम खर्चिलो र कम मेहनतमै राम्रो आम्दानी पाउने भएपछि धान, मकै, कोदो लगाउने खेत र बारीमा समेत अम्रिसो खेती गरिएको थियो । विरुवाका लागि भइरहेको बोटबाटै अर्को विरुवा निकाल्न सकिने, गोडमेलको झन्झट नहुने भएका कारण पनि किसानहरु अम्रिसो खेतीतर्फ आकर्षित भएका हुन् ।

दोमट माटो भिरालो जग्गामा अम्रिसो खेती फस्टाउने भएकाले किसानले प्रशस्त मात्रामा कूचो उत्पादन गर्ने गरेका छन् । अहिले एक जना किसानले चार हजार केजीसम्म कुचो बिक्री गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *