हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले आज ग्याल्पो ल्होछार मनाइँदै
काठमाडौं, २८ फागुन । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले आज ग्याल्पो ल्होछार मनाएका छन् ।
हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आज ग्याल्पो ल्होछार मनाएका हुन् ।
शेर्पा संस्कृतिविद्का अनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने दिनलाई नयाँ वर्षका रूपमा मनाइन्छ ।
ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।
आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।