वसन्तपुरमा ठड्याइयो चीर, विधिवत रूपमा फागु पर्व सुरु

काठमाडौं, ४ फागुन । काठमाडौँको हनुमानढोका वसन्तपुरमा आइतबार बिहान तीनखण्डे चिर विधिवत रुपमा ठड्याएसँगै फागु पर्व सुरु भएको छ ।

फागुन शुक्ल अष्टमीको दिन बिहान ७ बजेर ४७ मिनेटमा नेपाल पञ्चांग निर्णायक समितिले निकालेकाे शुभसाइतमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको ३२ फिटे चिर काठमाडौँको वसन्तपुरमा बाजागाजासहित ठड्याएकाे हाे ।

हनुमानढोका अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर ठड्याएसंगै देशभर होली पर्व औपचारिक रुपमा फागु पर्व सुरु भएको छ ।

फागुन शुक्ल अष्टमीका दिन शुरु हुने उक्त पर्व फागु पूर्णिमासम्म मनाइन्छ । पूर्णिमाको राति चिर ढालेर त्यसलाई टुँडिखेल पुर्‍याएर दहन गरिन्छ । बसन्तपुरमा विधिवत रुपमा गाडिएको चीर ढालेपछि फागु पर्व सकिएको मान्ने परम्परा छ ।

यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा फागुन ११ गते तथा तराईका जिल्लाहरुमा फागुन १२गते फागु पर्व मनाइदैँछ । फागु पर्वलाई आपसी कटुताको अन्त्य र सद्भावबृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ ।