गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको माग

काठमाडौँ, ७ चैत । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गर्नुभएको छ ।

बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन समिति गठनको माग गर्नुभयो ।

अप्ठयारो समयका लागि भन्दै बचतकर्ताले आफू र बच्चाका नाममा जम्मा गरेको ठूलो रकम हिनामिना भएको भन्दै उहाँले छानबिन समिति गठनको माग गर्नुभयो ।

“सहकारीमा बचत गरेको पैसा हिनामिना गर्नेलाई कारबाही गरी पीडितको पैसा फिर्ता हुनुुपर्छ । सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिनुभएको छ”, सांसद न्यौपानेले भन्नुभयो, “सूर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीपछि गठन गरेको विज्ञको प्रतिवेदनमा पनि सो कुरा उल्लेख छ । सो विवरणमा बचतकर्ताको करोडौँ रकम हिनामिना भएको देखिएको छ ।” सांसद न्यौपानले गरिबहरुले पेट काटेर पैसा बचत गरेका पैसा फिर्ता हुनुपर्नेमा माग गर्नुभयो ।