राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त, सचिवमा चुडामणि पौडेल बढुवा

काठमाडौँ, ८ चैत । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चार जना सदस्य नयाँ नियुक्ति गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले प्रा सङ्गीता सिंह, डा कुसेन्द्रबहादुर महत, प्रा शिवराज अधिकारी र डा अरनिको पाण्डेलाई सदस्य पदमा नियुक्त गरिएको हाे ।

बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाका सात र नेपाली तीन जनालाई जुगल हिमाल आरोहणका लागि आवश्यक दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।

सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले नेपाल प्रशासन सेवा समूहतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।