उपनिर्वाचनका लागि आज इलाम र बझाङमा उम्मेदवारी दर्ता हुँदै
काठमाडौं, २४ चैत । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज इलाम-२ र बझाङ १(१) मा उम्मेदवारी दर्ता हुँदैछ ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तय गरिएको आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार मनोनय दर्तासंगै आज साँझ मनोनयन सूची प्रकाशन हुनेछ ।आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिनको अपराह्न ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिनेछ ।
२६ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन भएपछि २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पाँच बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका छ ।
मतदान २०८१ वैशाखा १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।