प्रधानमन्त्रीद्वारा जुगल हिमाल आरोहण दललाई नेपाली झन्डा हस्तान्तरण
काठमाडौं, २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल आरोहण टोलीलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभएको छ । नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा उक्त टोलीले जुगल हिमाल आरोहण गर्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले प्रख्यात आरोही उम होङ गिलसहितका आरोही दलका सदस्यलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभयो । सरकारले जुगल प्रथम (६ हजार पाँच सय ९१ मिटर) र जुगल दोस्रो (६ हजार पाँच सय १८ मिटर) अग्लो हिमाललाई गत वर्षदेखि आरोहणका लागि खुला गरेको हो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले आरोहण दलका सदस्यलाई सफल आरोहणको सफलताको कामना गर्नुभयो । उहाँले यस कदमले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
जुगल हिमाल आरोहणबाट पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल र दक्षिण कोरियाबीच सहयोगका विविध क्षेत्रमा भइरहेका प्रगतिको प्रशंसा गर्नुभयो ।