बाँसबारी जग्गा प्रकरण : अख्तियारले गर्याे व्यवसायी विनोद चौधरीको बयान लिने तयारी
काठमाडौं, वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसबारी जग्गा प्रकरणमा व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने तयारी गरेको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितता गरी निजी कम्पनीको नाममा दर्ता भएको प्रारम्भिक निष्कर्षपछि अख्तियारले विनोदसँगै उनका भाइ अरुण चौधरीसँग समेत बयान लिने गरी तयारी थालेको हो ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा चौधरी समूहले आफ्नो नाममा ल्याएको थियो । चौधरी समूहले २०४२ सालमा खुलेको च्याम्पियन फुटवेयरले बाँसबारीको जग्गा आफ्नो नाममा सारेको थियो ।
च्याम्पियनले आफ्नो नाममा सारेको उक्त जग्गा चौधरी समूहकै चाँदवाग रेसिडेन्सीको नाममा छ । जग्गा अनियमितता प्रकरण सतहमा आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेका थिए ।
सीआईबीले केही महिना अघि व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेर अदालतको आदेशबाट केही दिनमा छाडेको थियो । अनुसन्धानका क्रममा सीआईबीले गत चैत ८ गते व्यवसायी एवं कांग्रेस सांसद विनोद चौधरीलाई पनि सरकारी वकिलको कार्यालयमा बयान लिएको थियो ।
बाँसबारी छालाजुत्ता कारखाना २०२२ सालमा स्थापना भएको थियाे ।