जनबहाःद्यःको रथ जात्रा आजबाट सुरूहुँदै, रथ बेलुकी तानिने
काठमाडौं, ४ वैशाख । उपत्यकामा मनाईने जनबहाःद्यःको रथ जात्रा आजबाट सुरूहुँदै छ ।
जनबहाःद्यःको रथयात्रा चैत्रशुक्ल अष्टमी देखि पूर्णिमा सम्म मनाईन्छ ।
अष्टमीको दिनदिउँसो जनबहाःद्यःलाई खटमा राखी बाजागाजासहित जनबहालबाट जमलसम्म जात्रा गरी लगिन्छ र जमलमा बनाइएको ५० फीट जतिको अग्लो रथमा जनबहाःद्यःलाई विधिपूर्वक राखिन्छ ।
जात्राको पहिलो दिन जमलको तीन धाराबाट रथ तानेर असनमा पुर्याईन्छ । भोलिपल्ट दिउँसो असनबाट रथलाई तानेर हनुमानढोका दरबारमा रहेको कालभैरवको अगाडि पुर्याईन्छ ।
त्यस्तै, जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानेर लगन टोलमा पुर्याईन्छ । लगनटोलको मध्यभागमा रहेको ठूलो रुख अर्थात् मां सिमा (करुणामयको आमा) को तीनपल्ट परिक्रमा गराई भोलिपल्ट बिहान जनबहाःद्यःलाई फर्काई केही दुरीसम्म रथ तान्ने परम्परा रहेको छ ।
उक्तदिन बेलुकी साइत हेरी जनबहाःद्यःलाई रथबाट निकाली पहिलेकै सानो खटमा राखीजात्रा गरी जनबहालमा फर्काईन्छ ।
जनबहालमा पुगेपछि गुरुज्यू तथापुजारीहरुले विधिपूर्वक पूजा गरी जनबहाःद्यःलाई स्वागत गरी भित्र्याइन्छ । अन्तमा देवतालाई प्रतिस्थापन गरीसकेपछि जनबहाःद्यःको जात्रा विधिवत रुपमा समाप्त हुन्छ ।
वर्षा र सहकालका देवता मानिने जनबहाःद्यःको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ।