प्रधानमन्त्री बन्ने नेपालको रहरः गणित र संविधान दुबै बाधक

काठमाडौं, २३ वैशाख । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० सीट मात्रै छ । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय दलको समेत हैसियत प्राप्त गर्न नसकेको यो दल अहिले नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र उपेन्द्र यादव नेतृत्वको जसपासँगको गठबन्धनमा सम्मिलित छ ।

नेपाली कांग्रेससँग अलग भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)सँग सहकार्य गरिसकेपछि मात्रै थाहा पाउनु भएका नेपाल त्यतिबेला सबै भन्दा बढी प्रचण्डसँग असन्तुष्ट बन्नुभएको थियो । आफूलाई जानकारी नै नदिई समीकरण बदलेको भन्दै असन्तुष्ट बन्नुभएका नेपाललाई नेकपा (एमाले) अध्यक्ष ओली र प्रचण्ड दुबैले निवास नै पुगेर फकाएपछि केही शान्त बन्नुभएको थियो । पार्टी भित्रको समेत दबाब थेग्न नसकेपछि नेपाल बल्ल सरकारमा सहभागी हुने निर्णयमा पुग्नु भएको थियो ।

सम्मानित नेता झलनाथ खनाल पछिल्लो समय एमालेसँग नरम बनेपछि थप संकटमा पर्नुभएका नेपाल नेतृत्वको पार्टीले त्यतिबेला एकीकृत समाजवादीको तर्फबाट भानुभक्त जोशीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठायो ।

अहिले पनि एकीकृत समाजवादी दुई मन्त्रालयसहित संघीय सरकारमा सहभागी छ । प्रदेशहरुमा समेत निकै नाजुक अवस्थामा रहेको उक्त दलले पछिल्लो समय विभिन्न खाले बार्गेनिङ गर्दै सात मध्ये एक प्रदेश अर्थात सुदुरपश्चिममा मुख्यमन्त्री लिएको छ भने अन्य प्रदेशमा पनि आफ्नो उपस्थिति देखाउँदै आएको छ ।

यद्यपि, एकीकृत समाजवादीका अध्यक्ष नेपाल पछिल्लो समय मुख्य गरेर नेकपा (एमाले) र अझ त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीसँग तिव्र असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ । उहाँले पछिल्लो समय ओली लक्षित घोचपेचको फायर खोलेपछि ओलीले पनि त्यसको जवाफ दिदैँ आउनु भएको छ । कांग्रेससँग बैकल्पिक गठबन्धन गर्ने धम्की दिदैँ नेपालले ओलीसँग दूरी बढाउँदै लगेपछि उहाँको समिकरणप्रतिको विमति छताछुल्ल भैरहेको छ । अझ कतिसम्म भने नेपालले अहिलेको समीकरणमा आफूसँगै जसपाले पनि साथ छाड्ने र गठबन्धनको सरकार ढल्नेसम्मको चेतावनी दिदैँ आउनु भएको छ ।

अहिले एमालेसहितको समीकरणमा ७८ सीटको एमाले, ३२ सीटको माओवादी र २१ सीटको रास्वपा छ । समीकरणमा १२ सिट जितेको जनता समाजवादी पार्टी (जसपा) पनि छ । यी चार दलको मात्रै मत जोड्दा पनि १ सय ४३ सिट हुन्छ । प्रत्यक्षतर्फ १० सीट जितेको र समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीको १० सीट जोड्दा अहिले १ सय ५३ सिट हुन्छ । एकीकृत समाजजादीले समीकरणको साथ छोड्दा पनि समिकरणमा खासै असर गर्दैन । तीन सिट रहेको नागरिक उन्मुक्ति पार्टीले पनि अहिलेको समीकरणलाई नै साथ दिने पक्कापक्की जस्तै छ । यस्तो अवस्थामा नेपालले मात्रै चाहेर नयाँ समीकरण भत्किने संभावना देखिँदैन ।

अहिले नेपालले जसपा पनि समीकरण छोड्ने तयारीमा रहेको हवाला दिदैँ आउनु भएको छ । तर, जसपा भने नेपालले भने जस्तै अहिले नै समीकरण तोड्ने पक्षमा छैन् ।
लामो समय राजनीतिको गणितमा खेल्दै आउनु भएका नेपाल स्वयंलाई पनि अहिलेको गणित आफू अनुकुल छैन भन्ने प्रष्ट छ । सत्ता समीकरण भत्काइदिने धम्कीपूर्ण अभिव्यक्ति गठबन्धन भत्काउने धम्की भन्दा पनि प्रधानमन्त्री पदको बार्गेनिङ अस्त्रका रुपमा नेपालले प्रयोग गर्न खोजेको अनुमान पनि धेरैले गरेका छन् ।

वि.सं. २०६५ सालमा प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन प्रधान सेनापतिसँग टसल भएपछि २०६६ मा राजिनामा दिनुभएको थियो । ०६४ को निर्वाचनमा नेपाल काठमाडौं र रौतहट दुई ठाउँबाट उम्मेदवार बनेपछि उहाँ दुबै ठाउँबाट पराजित हुनुभएको थियो । पछि उहाँलाई मनोनित गरेर सांसद बनाइएको थियो भने त्यहि सांसदको बलमा उहाँ २०६६ साल जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म प्रधानमन्त्री बन्नुभएको थियो । राजनीतिबाट करिब–करिब पलायन हुनुभएका नेपाललाई त्यतिबेला केपी शर्मा ओलीकै जोडबलमा प्रधानमन्त्री बनाइएको थियो ।

धरापको राजनीतिबाट डुंगा तारेर माझी बनिदिनुभएका ओली ०७४ को निर्वाचनपछि करीब दुई–तिहाई नजिकको प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री बनेपछि जनतामा केही आशा जगाउने काम हुँदै गरेका बेला प्रचण्डसँग मिलेर नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारवाहीको फर्मान जारी गर्नुभएको थियो । तर, अदालतको निर्णयपछि नेकपा (एमाले) व्युँतिएपछि नेपाल–प्रचण्डका ती सबै रणनीति असफल भए । ओलीलाई कत्लेआम गर्ने रणनीति असफल भएपछि प्रचण्ड–नेपालकै आडभरोसामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदको चिठ्ठा हात पर्यो । कुनै बेला ओली नेपाल–प्रचण्डको अपमानको कालकुट पिएर नेकपा (एमाले) बचाउने अभियानमा लाग्नुभयो ।

राजनीतिको चक्र कहिले दायाँ त कहिले बायाँ घुमिदिन्छ । त्यसैगरी राजनीतिको चक्रले दिशा परिवर्तन गरेपछि ०७९ को निर्वाचनपछि प्रचण्ड ओलीको साहारा माग्दै बालकोट पुग्नुभयो । ओलीकै जोडबलमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । तर, उहाँले त्यसको केही महिनापछि ओलीलाई समेत धोका दिएर फेरि पुरानै गठबन्धनमा फर्किएपछि एमाले ‘पर्ख र हेर’को रणनीतिमा बस्यो । अन्त्यमा फेरि गठबन्धन तोड्न सफल एमाले अहिले माओवादीसहितका दलको सहकार्यमा सरकार सञ्चालनमा छ ।

तर, नयाँ समिकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने आफू अपमान सहन नजन्मिएको भन्दै किस्तीमा प्रधानमन्त्री पदको मागिरहनु भएको छ । एमालेसहितको समीकरणबाट नेपालले आलोपालो प्रधानमन्त्री पाउने सम्भावना छैन । त्यसकारण पनि उहाँ अहिले प्रधानमन्त्री पद आफूबाट टाढा हुने खतरा देखेपछि सबै भन्दा बढी ओलीको आलोचनामा उत्रिनु भएको छ ।

नेपाल बाहेक समाजवादीका अधिकांश नेता–कार्यकर्ता अहिले नेकपा (एमाले)सँग एकता गरेर अघि बढ्नुपर्ने मतमा छन् । बाम एकता गरेर गएको अवस्थामा मात्रै ०८४ मा सकारात्मक माहोल ल्याउन सकिने समाजवादीका अधिकांश कार्यकर्ताको मत छ । तर, नेपाल भने प्रधानमन्त्री पदको भुलभुलैयामा लागेर अहिले गठबन्धन नै तोड्नेसम्मको धम्की दिएर आफूलाई हल्का बनाइरहनु भएको छ ।

बाम एकता गरेर गएको अवस्थामा मात्रै ०८४ मा सकारात्मक माहोल ल्याउन सकिने समाजवादीका अधिकांश कार्यकर्ताको मत छ । तर, नेपाल भने प्रधानमन्त्री पदको भुलभुलैयामा लागेर अहिले गठबन्धन नै तोड्नेसम्मको धम्की दिएर आफूलाई हल्का बनाइरहनु भएको छ ।

यतिसम्मकी केही दिन अघि एक कार्यक्रममा नेपालले ओलीलाई लक्षित गर्दै आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गर्नुभयो । ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरु पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ, म भन्न चाहन्छु।’ यहाँले यसरी छुद्र टिप्पणी गर्नुभएको थियो ।

ओलीले पनि त्यसको जवाफ दिदैँ माधव नेपाल प्रधानमन्त्री खान नपाएर दमको बिरामी जस्तो ह¥याकह¥याक गरिरहेको टिप्पणी रसुवा पुगेर हिँजो मात्रै गर्नुभएको छ । नमरमा हदैसम्म नरम बन्ने ओली कढामा फेरि कढा रुपमै प्रस्तुत हुने शैली छ । पछिल्लो समय ओलीमाथि नेपाल निरन्तर खनिन थालेपछि त्यसको जवाफ ओलीले रसुवाबाट दिनुभएको हो । ‘अहिले पनि तपाईंहरुले देखिराख्नु भएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर प¥या छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ ।’

अहिले नेपालको प्रधानमन्त्री बन्ने हुटहुटी ठूलो छ । तर, उहाँको हुटहुटी जति ठूलो भए पनि उहाँलाई प्रधानमन्त्री पदको कुर्सी प्राप्त हुने संभावना भने कतैबाट पनि देखिँदैन । उहाँसँग भएको जम्मा १० सिट हो । उहाँले भने जस्तो प्रधानमन्त्रीका लागि गठबन्धन बने पनि बहुमत पुग्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा संविधानको सहयोग लिनु पर्ने हुन्छ । यस्तो अवस्थामा पनि नेपाललाई प्रधानमन्त्री बन्न सहज छैन । एकातिर उहाँसँग जम्मा १० सिट छ । यो १० सिट लिएर प्रधानमन्त्री पदको आकांक्षा गर्नु नै ‘बोकाका मुखमा कुभिण्डो’ भन्ने नेपाली उखान जस्तै हो ।

संविधान अनुसार पनि नेपाल प्रधानमन्त्री बन्ने संभावना देखिदैन । संविधानको धारा ७६ को (२) उपधारा (१)मा बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने उल्लेख छ ।

संविधान अनुसार पनि नेपाल प्रधानमन्त्री बन्ने संभावना देखिदैन । संविधानको धारा ७६ को (२) उपधारा (१)मा बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने उल्लेख छ ।

त्यसैगरी (३) मा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने उल्लेख छ ।