कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिँदै

काठमाडौं, २७ वैशाख । कोशीमा नयाँ सरकार गठनको आव्हान भएसँगै सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले तयारी सुरु गरेका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्ने तयारी भएको हो ।

बिहान १० बजेसम्ममा बहुमत सदस्यसहित नयाँ सरकार गठनका लागि दाबी पेश गरिने एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयाे ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्गले २ दिनको समय सीमा दिएर हिजो राति संविधानको धारा १६८ (५) अन्तर्गत नयाँ सरकार गठनको आव्हान गर्नुभएकाे थियाे । दाबी पेश भएपछि बहुमत परीक्षणका लागि दिउँसो सबै सांसदको सनाखत गराउने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ ।

एमाले र माओवादी केन्द्रले सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद सचिवालयमा परिचय खुल्ने कागजसहित उपस्थित हुन निर्देशन दिइसकेको स्राेतले जनाएकाे छ ।

हिक्मतकुमार कार्कीको पक्षमा बहुमत पुग्ने निश्चित छ । आजै दिउँसो उहाँलाई शपथ गराउने गरी तयारी भइरहेको छ ।

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले समय सीमा दिएको थियो ।

तर, उहाँले विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडान रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।