बगरमा खर्बुजा खेती, राजमार्गमा बिक्री

कञ्चनपुर, २७ वैशाख । पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा छन् । छाप्रामा खर्बुजा राखेर कोही ग्राहक कुरिरहेका छन्भने कोही बिक्रीमा व्यस्त छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी खर्बुजा बेच्नेको भीड छ । महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर खर्बुजा खरीद गर्ने गर्छन् ।

कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा खर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थाप्नुभएको हो । वनरा नदीको बगरमा खर्बुजा खेती गर्ने उहाँ बर्सेनि राजमार्गमा छाप्रो बनाएर खर्बुजा बिक्री गर्दै आउनुभएको छ ।

“बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा खर्बुजा, काक्रा, फर्सी खेती गरेको छुँ । यसैबाट घरखर्च चलेको छ”, रामकृष्णले भन्नुभयो, “दैनिक रु तीन/चार हजारको बिक्री हुन्छ ।” उहाँका अनुसार चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर खर्बुजा बिक्री गर्ने गरिन्छ । हाल दैनिक १५/२० क्विन्टल खर्बुजा बिक्री भइरहेको छ । प्रतिकिलोग्राम रु ५० का दरले खर्बुजा बिक्री हुने गरेको छ ।

“गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ । बुवाआमाले पनि खेतीमा सघाउनुभएको छ”, उहाँले भन्नुभयो, “यो सिजनमा राम्रो आम्दानी हुन्छ ।” वनरा शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा खर्बुजा बिक्री गरिरहेका भेटिनुहुन्छ । उहाँले वनरा नदीको बगरमा सात कट्ठा क्षेत्रमा खर्बुजा खेती गर्नुभएको छ ।

“आफ्नो बारीमा खर्बुजा पाकेको छैन । अरुबाट रु ३० मा प्रतिकिलोग्राम किनेर रु ५० मा बेच्दैछौँ”, उहाँले भन्नुभयो, “केही दिनमा आफ्नै बारीको खर्बुजा तयार हुन्छ ।”वनरा पुल क्षेत्रमा खर्बुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्तकमैया र आरक्ष पीडित छन् । “सुरुमा भारतीयहरूले बगरमा खेती गर्थे । उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ”, सालिकराम भन्नुहुन्छ, “अहिले बगरमा भारतीय छैनन् ।”

माघदेखि बगरमा खर्बुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि खर्बुजा बिक्रीका लागि बजार ल्याउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *