कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्रीद्वारा सर्वोच्चमा रिट
काठमाडौं, २७ वैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्की को नियुक्तिविरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेकाे हाे ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गर्नुभएकाे छ साथै कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गर्नुभएकाे छ ।
प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिनुभएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधबार मध्यरातमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएकाे थियाे ।
बिहीबार नेकपा एमाले संसदीय दलका नेता कार्कीले ५२ सांसदको समर्थसहित दाबी पेस गर्नुभएपछि समर्थनकर्ता सांसदहरूको सनाखतपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएकाे थियाे ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएकाे रिटकाे पेशी शुक्रबारका लागि ताेकिएकाे छ ।