कोशीमा मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ, सानाे आकारकाे मन्त्रीमण्डल पनि गठन
विराटनगर, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हाे ।
त्यसैगरी आजै उहाँले सानाे आकारकाे मन्त्रिपरिषद् समेत गठन गर्नुभएकाे छ । उहाँले माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गर्नुभएकाे छ ।
नवनियुक्त मन्त्रीलाई समेत नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
एमालेबाट मन्त्री बन्न लाग्नुभएका मगर इलामबाट निर्वाचित सांसद हुन् भने माओवादीका उप्रेती मोरङका सांसद हुन् । दुबै जना यसअघि पनि मन्त्री भइसक्नुभएकाे छ ।