पहिरोमा परी फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षका एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

ताप्लेजुङ, ३२ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।

फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको हाे ।

पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते हुनुभएको छ ।

मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको थियाे ।

गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।