काठमाडौँ उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने
काठमाडौँ, ३२ जेठ । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने राति हल्का वर्षा हुनेछ । आज काठमाडाैंको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।” कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौँ उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उहाँले बताउनुभयो ।
विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । देशका बाँकी भागमा मौसम सफा रहेको छ ।