प्रधानमन्त्रीसँग प्रश्नोत्तर :आफ्नाे सम्बोधनमा संसदमा शीर्ष नेता उपस्थित नभएकोमा प्रचण्डको असन्तुष्टि
काठमाडौं, ६ असार, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आफ्नाे सम्बोधनकाे समयमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको भन्दै असन्तुष्टि जनाउनु भएका छन् ।
बिहीबार प्रश्नोत्तर कार्यक्रम सकिएपछि प्रधानमन्त्री प्रचण्डले आफूले सम्बोधन गर्ने समयमा संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको गुनासो गर्नुभएकाे हाे ।
प्रधानमन्त्री प्रचण्डले संसदमा बोल्दा सकेसम्म सबै उपस्थित हुने परम्परा रहेको बताउनुभयाे । प्रश्नोत्तर कार्यक्रममा ११ जना सांसदहरूले भाग लिनुभएकाे थियाे ।
उहाँले भन्नुभयाे, ‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि प्रतिपक्षका पनि सबै नेताहरु, सबै माननीय सदस्यहरु, मन्त्रीहरु इमर्जेन्सीबाहेक सबै माननीयज्यूहरु उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो’, ‘तर अब क्रमशः त्यो पातलिन थालेको छ ।’
‘यसले हामीले अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैंले आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ भन्ने विश्वास सहित बिदा हुन्छु’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
संसद सचिवालयका अधिकारीहरुका अनुसार बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित हुनुभएपनि केही समयमै बाहिरिनुभएकाे थियाे । बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगाएतका अनुपस्थित हुनुभएकाे थियाे ।